Skip to main content

क्वाइनोनिया पाटन मण्डलीमा नेपाल भाषा (नेवारी) सेवाको शुभारम्भ

August 19, 2025
क्वाइनोनिया पाटन मण्डलीमा नेपाल भाषा (नेवारी) सेवाको शुभारम्भ

पाटन, बैशाख ६, २०८२ – क्वाइनोनिया पाटन मण्डलीमा चौथो सेवाको क्रममा नेपाल भाषा (नेवारी) सेवाको औपचारिक शुभारम्भ गरिएको छ।
हाल क्वाइनोनिया पाटन मण्डलीले प्रत्येक शनिबार तीनवटा नेपाली भाषामा सेवाहरू र प्रत्येक आइतबार अंग्रेजी सेवा सञ्चालन गर्दै आएको छ। यसै क्रममा नयाँ थपिएको नेपाल भाषा (नेवारी) सेवा मण्डलीको चौथो संगती हो।

यो पहिलो नेपाल भाषा सेवामा पास्टर रिभ. डा. माङ्गल मान महार्जनले नेवारी भाषामै प्रवचन बाँड्नुभयो। उहाँले यस नयाँ सेवाले विशेषगरी नेपाली भाषामा सीमित समझ भएका ज्येष्ठ नेवारी विश्वासीलाई परमेश्वरको वचन अझ स्पष्ट र अर्थपूर्ण ढंगले बुझ्न ठूलो मद्दत गर्ने बताउनुभयो। उहाँले यो सेवा अझ फलदायी र आत्मिक रूपमा सशक्त हुनेमा आशा व्यक्त गर्नुभयो।

यस विशेष सेवामा मण्डलीका सदस्यहरू, युवा, बालबालिका तथा ज्येष्ठ भक्तजनहरूको उल्लेख्य सहभागिता रह्यो। नेपाल भाषा सेवा सुरु गर्नुको उद्देश्य नेवार समुदायलाई आफ्नो मातृभाषामै आत्मिक शिक्षा, आराधना र संगति गर्ने अवसर उपलब्ध गराउनु हो।

कार्यक्रममा अगुवाहरूले मातृभाषामा सेवाले समुदायलाई अझ नजिक ल्याउने, विश्वासमा जरा गाड्न सहयोग गर्ने र भविष्यको पुस्तामा आत्मिक सत्यलाई प्रभावकारी ढंगले सम्प्रेषण गर्ने विश्वास व्यक्त गरे।

यस सेवाबाट पाटन क्षेत्रका नेवार भाषी जनसमुदायमा शुभ समाचार अझ सशक्त रूपमा फैलन सक्ने र यसले सम्पूर्ण मण्डलीको विविधता र एकतालाई प्रोत्साहन गर्ने अपेक्षा राखेको छ।

नेपाल भाषा (नेवारी) सेवाको यो शुभारम्भ क्वाइनोनिया पाटन मण्डलीको सेवा यात्रामा ऐतिहासिक कदमका रूपमा लिइएको छ।

Other News